अनिश्चितताले घेरियो विश्व अर्थतन्त्र
काठमाडाैं । अन्तर्राष्ट्रिय संस्थाहरूले उच्च मुद्रास्फीति, बढ्दो ऋण, भू–राजनीतिक तनाव, प्रविधि क्षेत्रमा आएको सुस्तता, जलवायु सङ्कट र श्रम बजारमा देखिएको संरचनात्मक परिवर्तनले सन् २०२५ लाई चुनौतीपूर्ण आर्थिक वर्षका रूपमा चित्रित गरेका छन् । यस वर्ष सबैभन्दा ठूलो चिन्ता मुद्रास्फीति र ब्याजदरको विषय बनेको छ । यसको प्रत्यक्ष असर उपभोग, पुँजीबजार र घरजग्गा जस्ता क्षेत्रमा देखिएको छ ।
त्यस्तै, सार्वजनिक र निजी क्षेत्रको ऋण ऐतिहासिक उच्च स्तरमा पुगेको छ । बढ्दो ब्याजदरका कारण ऋणको सेवा खर्च बढ्दा सरकारहरूका बजेटमा ठूलो दबाब परेको छ भने निजी क्षेत्रको लगानी क्षमता खुम्चिएको छ । विशेष गरी विकासशील र उदीयमान अर्थतन्त्रहरू ऋण सङ्कटको जोखिमतर्फ धकेलिँदै गएको विश्व बैंकले उल्लेख गरेको छ । त्यस्तै, भू–राजनीतिक विभाजन र व्यापार युद्ध अर्को गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
अमेरिका–चीन प्रतिस्पर्धा, युक्रेन–रुस युद्ध, मध्यपूर्वको अस्थिरता र संरक्षणवादी नीतिका कारण विश्व व्यापार प्रणाली झन् खण्डित हुँदै गएको छ । बढ्दो भन्सार शुल्क र व्यापार अवरोधले आपूर्ति शृङ्खला अव्यवस्थित बनाएको छ । जसले उत्पादन लागत बढाउनुका साथै विश्व व्यापारको वृद्धिदर घटाएको छ । जलवायु परिवर्तनको आर्थिक लागत झन् गहिरिँदै गएको छ । बाढी, सुक्खा र प्राकृतिक प्रकोपका कारण कृषि, पूर्वाधार र बीमा क्षेत्रमा ठूलो क्षति भइरहेको छ । त्यस्तै, श्रम बजारमा पनि दीर्घकालीन संरचनात्मक समस्या देखिएको छ ।
यसले उत्पादनशीलता घटाउनुका साथै सामाजिक सुरक्षा प्रणालीमा दबाब सिर्जना गरेको छ । अन्तर्राष्ट्रिय आप्रवासन अर्को संवेदनशील आर्थिक–राजनीतिक मुद्दा बनेको छ । श्रम अभाव पूर्ति गर्न आप्रवासी श्रमिक आवश्यक भए पनि सामाजिक असन्तोष, राजनीतिक विरोध र मानवीय सङ्कटले सरकारहरूलाई जटिल निर्णय लिन बाध्य बनाएको छ । मुद्रास्फीति, युद्ध, ऋण सङ्कट र नीतिगत अनिश्चितताका कारण शेयर, मुद्रा र ऋणपत्र बजारमा तीव्र उतार–चढाव देखिएको छ । यसले लगानीकर्ताको विश्वास कमजोर बनाएको छ । आपूर्ति शृङ्खलाका अवरोध बढ्दै गएका छन् ।
सन् २०२५ को विश्व वृद्धिदर महामारीअघिको औसतभन्दा तल रहने अनुमान छ । विश्व आर्थिक वृद्धिदर २०२४ को ३.३ प्रतिशतबाट घटेर २०२५ मा ३.२ प्रतिशत र २०२६ मा ३.१ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक भन्सार (ट्यारिफ) नीतिका कारण यो वर्ष विश्व बजार र आपूर्ति शृङ्खला नराम्रोसँग खल्बलियो । व्यापार घाटा घटाउने नाममा प्रमुख व्यापारिक साझेदारमाथि नयाँ–नयाँ भन्सार कर घोषणा गर्दै ट्रम्प प्रशासनले तय गरेका नीतिका प्रभाव संसारभर देखिएको छ । सन् २०२५ मा सुन, चाँदी र को मूल्य ऐतिहासिक विन्दुमा पुग्यो ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ५४५ अमेरिकी डलर नाघ्दा चाँदी प्रतिऔँस ७९ डलर नाघेको छ । सन् २०२५ मा उच्च आय भएका मुलुकहरूले वैदेशिक सहायता र विकास सहयोगका शीर्षकमा ठूलो रकम कटौती गरेसँगै विश्वव्यापी मानवीय सहायता प्रणाली सङ्कटमा परेको छ । नयाँ प्रविधिले पुराना उत्पादन र प्रणालीलाई विस्थापित गर्दै दीगो आर्थिक वृद्धि, जीवनस्तर र समृद्धिको आधार तयार गर्ने तथा यसका लागि खुला समाज, प्रतिस्पर्धी र नवप्रवर्तनमैत्री वातावरण आवश्यक रहेको छ ।
