कान्ति लोकपथमा पहिरो खस्दा यातायात पूर्ण रुपमा अवरुद्व
काठमाडौँ । ललितपुरको बागमती गाउँपालिका - ४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रुपमा अवरुद्ध भएको छ । आइतबार बिहान करिब ५ बजे खसेको पहिरोका कारण काठमाडौँ र हेटौँडा जोड्ने छोटो दुरीको मार्गमा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको बागमती गाउँपालिका अध्यक्ष विर बहादुर लोप्चनले जानकारी गराएका छन् ।
काठमाडौँ र हेटौँडा जोड्ने छोटो दुरीको मार्गमा बेला बखत आउने यस्ता समस्याको तत्काल हल निकाल्नका लागि आफुले कुनै कसर नछोडेको उनले बताए । सडकमा ठूलो पहिरो थुप्रिएकाले दुवैतर्फबाट हुने सवारी आउजाउ रोकिएको उनको भनाई छ । जति सक्दो छिटो पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको अध्यक्ष लोप्चनले बताएका छन् ।
हरेक क्षेत्रमा यात्रा गर्ने यात्रुहरुले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । बर्षका कारण आफुले यात्रा गर्ने सडकको अवस्था बुझेर हिडे सहज रुपमा गन्तव्यमा पुगिने ट्राफिक प्रहरीको भनाई छ ।
चालकलाई संयमित भएर सवारी चलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ । निर्माणाधीन सडक र पानीका कारण दुर्घटनाको जोखिम बढ्ने भन्दै सावधानी अपनाउन प्रहरीले सचेतना गराएको हो ।
