sevenstartv.com १६ वैशाख २०८३, बुधवार

पहुँचका भरमा सरकारी सवारीको दुरुपयोगमा रोकको प्रयास

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

१५ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै आएको दोहन र प्रशासनिक बेथितिको अन्त्यका लागि ठोस कदम चालेको छ। प्रचलित कानुनविपरीत पहुँचका भरमा सुविधा लिइरहेका कर्मचारी तथा पदाधिकारीहरूबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सवारी साधन फिर्ता लिने प्रक्रिया सुरू गरेको छ।

कार्यालयले अहिलेसम्म ६२२ वटा सरकारी सवारी साधन विभिन्न मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूबाट  फिर्ता लिइसकेको छ। राजपत्राङ्कित प्रथम श्रेणी वा त्यसभन्दामाथिका पदाधिकारीले मात्र सरकारी सवारी साधनको सुविधा पाउने कानुनी व्यवस्था भए पनि त्योभन्दा तल्लो तहका कर्मचारी तथा पदाधिकारीले समेत चारपाङ्ग्रे सरकारी सवारी साधन प्रयोग गरिरहेको  प्रधानमन्त्रीको सचिवालयले गरेको प्रारम्भिक अनुसन्धानमा तथ्य फेला परेको थियो ।

अनुसन्धानका क्रममा सबै सरकारी निकायका कर्मचारी र पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको विस्तृत विवरण माग गरिएको थियो। प्राप्त तथ्याङ्कका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत वैशाख १० गते सबै मन्त्रालय, त्यसअन्तर्गतका निकाय र संवैधानिक आयोगहरूलाई परिपत्र गर्दै प्रचलित कानुनले सवारी साधन उपलब्ध गराउनु नपर्ने तहका कर्मचारी र पदाधिकारीले प्रयोग गरिरहेका सवारी साधन तत्काल फिर्ता गर्न निर्देशन दिएको थियो। त्यही निर्देशनका आधारमा कानुनविपरीत प्रयोग भइरहेका सवारी साधन फिर्ता गरिएको हो ।

काम विशेष वा असहज परिस्थितिमा सबै तहका कर्मचारी र पदाधिकारीले सामूहिक रूपमा सरकारी सवारी साधन प्रयोग गर्न पाउनेछन्। अब आगामी दिनमा कानुनले तोकेबाहेकका कुनै पनि कर्मचारी वा पदाधिकारीले सरकारी सवारी साधनको एकल प्रयोग गर्न भने पाउने छैनन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार कानुनविपरीत सरकारी सवारी साधन प्रयोग गर्दा सरकारलाई कति आर्थिक भार परेकोबारे पनि विस्तृत अध्ययन भइरहेको  छ।

राज्यको ढुकुटीमाथि हुने फजुल खर्च कटौती गर्दै प्रशासनिक अनुशासन कायम गर्ने सरकारको यो अभियानले सुशासनको दिशामा नयाँ आयाम थप्ने प्रम बालेनको सचिवालयले जनाएको छ। सरकारले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको बढ्दो मूल्य र मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै इन्धन, मर्मत सम्भार र सुविधाका नाममा भइरहेको व्ययभार कम गर्न यो कदम चालेको हो।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्