दुई संसदीय समितिको सभापति भोलि चयन हुने , निर्वाचन कार्यक्रम सार्वजनिक
काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
सभामुख देवराज घिमिरेले ती समितिका सभापतिको निर्वाचनका लागि भोलि साउन ३१ गते बिहीबारको मिति निर्धारण गर्नु भएअनुसार निर्वाचन कार्यक्रम प्रकाशन गरिएको सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस भनेर अर्को एक सदस्यको समर्थनसहित आज दिउँसो २ देखि ४ बजेसम्म नयाँ बानेश्वरमा रहेको संसद् भवनको महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्नु पर्नेछ ।
आजै दिउँसो साढे चार बजे निर्धारित समयभित्र दर्ता भएका प्रस्तावको क्रमअनुसार सूची प्रकाशित हुनेछ । भोलि बिहीवार दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थक गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सार्वजनिक चुनावी कार्यक्रमसम्बन्धी सूचनामा उल्लेख छ ।
