रोल्पा दुर्घटना : थवाङतर्फ शव लगिदै मृतकहरूको नाम संकलन हुँदै
काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुल्न आएको छ ।
ज्यान गुमाएका मध्ये ९ जना दाङका व्यक्ति रहेको जनाइएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले बताएका छन् । मृतकहरूको नाम संकलन भइ रहेको उनको भनाई छ । हाल शवहरू संकलन गरेर थवाङतर्फ लगिँदै गरेका वडाध्यक्ष बस्नेतले जानकारी गराएका छन् ।
सबै शवहरू उद्धार गरेर लाँदै गरेको बताएँदै वडाध्यक्ष बस्नेतले भने, सबैको सनाखत केहीबेरमा थवाङ पुगेपछि हुन्छ । ९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उनको भनाई छ । एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएकोे वडा अध्यक्षको भनाई छ ।
उनले भने, एउटै परिवारका दुई दाजुभाइका जहान परिवार पर्नुभएको छ । दाजुको परिवारको छोरो, बुहारी, श्रीमती र नाती गरेर ४ जना बित्नुभयो,’ उनले भने, ‘उहाँकै भाइ साइँलाको श्रीमती, छोरी र छोरो पनि दुर्घटनामै पर्नुभयो ।’ बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो ।
शुक्रबार बिहानैबाट सुरक्षाकर्मीसहितको पहलमा उद्धार गरेर अहिले थवाङतर्फ शव ल्याउन लागिएको हो । दुर्घटना हुँदा जिप करिब ८ सय मिटर तल झरेको थियो । रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो ।
रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी भने घाइते भएका छन् । उनलाई राति नै अस्पताल लगेर उपचार भई रहेको जनाइएको छ।
