त्रिवि सेवा आयोगका अध्यक्ष भट्टराईद्वारा पदबाट राजीनामा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. धनश्याम भट्टराईले शनिबार पदबाट राजीनामा दिएका छन् । वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले पुर्ववर्ती सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरूको खारेजी गर्ने तयारी गरेसंगै राजीनामा आउने क्रम बढ्दो छ ।
त्रिभुवन विश्वविद्यालयका तत्कालीन कुलपतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराईलाई नियुक्त गरेका थिए । यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहितका पदाधिकारीले समेत राजीनामा दिइसकेका छन् ।
१७ वैशाखमा उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा.केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । यसैगरी शुक्रबार संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले समेत राजीनामा दिएका थिए ।
