विगतका मतभेद र कटुतालाई बिर्सेर अघि बढौं : महामन्त्री घिमिरे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । महामन्त्री घिमिरेले नेपाली कांग्रेसका समग्र नेता तथा कार्यकर्ता पार्टी एकताका लागि एकजुट हुनु पर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै महामन्त्री घिमिरेले हाल नेपाली कांग्रेस इतिहासकै चुनौतीपूर्ण राजनीतिक मोडमा उभिएको उल्लेख गरेका छन् ।
उनले विशेष महाधिवेशनमार्फत भएको नेतृत्व परिवर्तनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले वैधानिकता दिइसकेको बताउँदै महामन्त्री घिमिरेले सो विषयमा पक्ष–विपक्षको बहस आवश्यक नरहेको प्रस्ट्याएका छन्। वर्तमान अवस्थामा पार्टीभित्र एकता सुदृढ गर्नु नै समग्र नेता कार्यकर्ताको मुख्य दायित्व भएको स्पष्ट पार्दै उनले विगतका मतभेद र कटुतालाई बिर्सेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
निर्धारित समयमै १५औँ महाधिवेशन सम्पन्न गर्न सबैलाई सक्रिय हुन महामन्त्री घिमिरेले आग्रह गरेका छन्। उनले पार्टीका अग्रज, नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय सानेपामा भेला भएर छलफल गर्न आह्वान समेत गरेका छन् । पार्टीको बृहत्तर एकतालाई कमजोर हुन नदिनका लागि एकता आवश्यक रहेको बताउँदै उनले पार्टीको बृहत्तर एकतालाई केन्द्रमा राख्नु पर्ने कुरामा सबै सचेत रहनुपर्नेमा जोड दिएका छन् ।
