दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि प्रस्ताव दर्ता
काठमाडौं । दुई संसदीय समितिको सभापतिको निर्वाचनका लागि आज प्रस्ताव दर्ता हुने भएको छ ।
संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिको निर्वाचन कार्यक्रम अन्तर्गत प्रस्ताव दर्ता हुन लागेको हो ।
सभापतिमा निर्वाचित गरियोस् भन्ने भनी अर्को एक सदस्यको समर्थनसहित दिउँसो २ देखि ४ बजेसम्म नयाँबानेश्वर संसद भवनस्थित महासचिवको कार्यकक्षमा प्रस्तावकले प्रस्ताव दर्ता गर्ने तालिका छ । दर्ता भएका प्रस्तावको क्रमअनुसार अपराह्न साढे ४ बजे सूची प्रकाशित हुनेछ ।
बिहीबार दिउँसो ३ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने छ ।
प्रतिनिधिसभा निर्वाचन भएको करिब डेढ वर्षपछि ती समितिका सभापति चयन हुन लागेको हो ।
यसअघि संसदीय सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुँदै आएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति गठन नै भएको थिएन ।
