सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वसको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा शाह साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको १० दिनपछि उनले विश्वासको मत लिन लागेका हुन् ।
नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतका लागि २७ सांसद्को समर्थन आवश्यक पर्छ ।
अहिले प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसद् छन् । विपक्षमा रहेका नेकपा माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका पाँच र राप्रपाका एक सांसद छन् ।
