sevenstartv.com १४ माघ २०८२, बुधवार

यसवर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा मुलुकभर सुक्खापन बढ्दै, ताता वर्षले थपिँदै संकट, प्रत्यक्ष असर प्रि-मनसुनमा समेत पर्ने विज्ञहरूकाे ठम्याई

१४ माघ २०८२, बुधवार स्टार संवाददाता

काठमाडाैं । यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा मुलुकभर सुक्खापन बढ्दै गएको छ । मंसिरदेखि माघसम्म हुनुपर्ने औसत वर्षा नभएपछि यसको प्रत्यक्ष असर कृषि, जलविद्युत्, पर्यटन र स्वास्थ्य क्षेत्रमा मात्र नभई आगामी ‘प्रि–मनसुन’ (फागुन–जेठ) मा समेत पर्ने विज्ञहरूले बताएका छन् ।

गत कात्तिकमा आएको चक्रवातका कारण जमिनमा केही ओस रहे पनि हिउँदे वर्षाको अभावले गर्दा त्यो ओस समेत सुक्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदर करिब ६० मिलिमिटवर्षा हुन्छ । तर यस वर्ष १६ मंसिरदेखि १३ माघसम्म सरदर ३.६ मिलिमिटर मात्र वर्षा भएको छ । यो वर्ष पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदा सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्ममात्र वर्षा र हिमपात भएको छ ।

केही हिमाली भेगबाहेक अन्यत्र राम्रोसँग हिउँ र पानी पर्न सकेन । मौसमविदहरुका अनुसार विगत केही वर्षका हिउँद सुक्खा हुँदै गएको रेकर्ड छ । गत सन् २०२५ को हिउँद सबैभन्दा सुक्खाको रुपमा दर्ज भएको छ । सन् २०२५ मा हिउँदयाममा जम्मा १२.३० मिलिमिटर मात्र वर्षा भएको विभागको रेकर्ड छ । सन् २०२५ मा अधिकांश स्थानमा सामान्यभन्दा ६० प्रतिशत बढी सुक्खा देखिएको थियो । २०२५ मा पश्चिमी पहाडी भागहरुमा मात्रै हल्का वर्षा भएको थियो । काठमाडौं उपत्यकासहित तराई मधेशका भूभागहरू पनि सुक्खा नै रहे ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा वर्षा र जाडो दुवै कम हुने प्रक्षेपण गरेको थियो । विभागले गरेको हावापानीको सो आँकलन मिलेको देखिन्छ । विगतका वर्षहरूमा हिउँदे झरी पर्ने र त्यसपछि चिसो बढ्ने परम्परागत अहिले पूर्णरूपमा बदलिएको छ । केही वर्षयता सुक्खायामसँगै ताता दिन र ताता रात पनि बढ्दै गएका छन् ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँद अवधिको सरदर न्यूनतम तापक्रम ८.८२ डिग्री सेल्सियस र सरदर अधिकतम तापक्रम २२.९६ डिग्री सेल्सियस हो ।

यो सन् १९९१ देखि सन् २०२०सम्म (३० वर्ष अवधि) मा २० वटा केन्द्रबाट लिइएको औसत तापक्रमको आधारमा निकालिएको हो । विभागको तथ्यांकअनुसार सन् २०२० को डिसेम्बरदेखि सन् २०२१ को जनवरी–फेब्रुअरीसम्म हिउँदमा १३.५४ मिलिमिटर वर्षा भएको छ । यसैगरी सन् २०२२ मा १०१.९७ मिलिमिटर, सन् २०२३ मा १२.९३ मिलिमिटर, सन् २०२४ मा १३.९७ मिलिमिटर र सन् २०२५ मा १२.३० मिलिमिटर वर्षा भएको छ ।

जलवायु परिवर्तनको असरका कारण पृथ्वी तात्दै गएको जनाइएको छ । युरोपियन युनियन अन्तर्गतको कोपर्निकसले सार्वजनिक गरेको तथ्यांकले पनि त्यसलाई पुष्टि गर्दछ । कोपर्निकसको तथ्यांक अनुसार पछिल्ला ११ वर्ष हालसम्मकै ताता वर्ष बनेका छन् । सन् २०२५ तापमानको अभिलेख राख्न थालिएयताकै तेस्रो तातो वर्षका रुपमा दर्ज भएको छ । औपचारिक रुपमा सन् १८५० देखि विश्वको तापमानको अभिलेख राख्न थालिएको हो । सन् २०२३, २०२४ र २०२५ लगातार ताता वर्षका रुपमा दर्ज भएका छन् । सुक्खा र ताता वर्षले नेपाल पनि प्रभावित भएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्