गगनको राजीनामा अस्वीकृत गर्ने विश्वप्रकाशको प्रस्ताव, ‘स्वीकृत गर्नु हुँदैन भन्ने सबैको मत’
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा विश्वप्रकाशले गगनको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् ।
‘डढेलो लागेको जंगलमा आगो निभाउन अन्तिममा पुगेको व्यक्तिलाई आगो ननिभ्दा आगलागीको दोष बोकाउनु न्यायसंगत बिल्कुलै हुँदैन,’ उनले भने । विश्वप्रकाशको प्रस्तावमा शुक्रबार बोलेका सबै केन्द्रीय सदस्यले समर्थन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । ‘अहिलेको अवस्थामा सभापतिको राजीनामा स्वीकृत गर्नुहुन्न भन्ने मत छ सबैको,’ चालिसेले भने ।
प्रतिनिधि सभा निर्वाचनमा भएको लज्जास्पद हारको नैतिक जिम्मेवारी लिंदै गगनले गत बुधबार उपसभापति विश्वप्रकाशलाई राजीनामा बुझाएका थिए ।
