कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् ।
मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि बैठक दिउँसो ३ बजे बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयले जनाएको छ । कुल ४० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिन २१ जनाको समर्थन आवश्यक पर्दछ ।
कँडेल नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा हाल नेपाली कांग्रेसका १४ र नेकपा एमालेका १० सांसद छन् । दुई दलका प्रदेश सभा सदस्यको मत उनलाई विश्वासको मत पाउन पुग्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको प्रदेश सभामा १३ जना सदस्य छन् भने एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक–एक प्रदेश सभा सदस्य छन् ।
