गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : रामहरी खतिवडा
काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृहमन्त्रालय अन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद् खतिवडाले यस्तो टिप्पणी गरेका हुन् । उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको उल्लेख गर्दै दोषि भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।
यद्यपि कर्मचारीमाथि अनुसन्धान शुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ । गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद् खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्ने बित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने उनको भनाइ छ ।
