पुलचोक-गोन्द्राङ ६ लेन सडकको संयुक्त उद्घाटन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार चितवनका विभिन्न स्थानमा भएका विकास निर्माण परियोजनाको उद्घाटनका लागि काठमाडौंबाट भरतपुरमा उत्रिए । उनी भरतपुर महानगरपालिकास्थित पुलचोक-गोन्द्राङ ६ लेन सडक र इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज उद्घाटनका लागि चितवन पुगेका थिए ।
भरतपुर महानगरपालिकास्थित पुलचोक-गोन्द्राङ ६ लेन सडक बनाएको जस लिने होडबाजी पनि स्थानीय सरकार र संघीय सरकारबीच चलिरहेको छ । उक्त सडकको उद्घाटनका क्रममा पनि विमानस्थलमा जस्तै प्रधानमन्त्री ओली र मेयर रेनुबीच सौहार्दता देखियो । जहाँ सडक उद्घाटन नै प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह र मेयर रेनुले एकसाथ गरेका छन् ।
प्रधानमन्त्रीले सडकको शिलापत्र अनावरणका क्रममा राखिएको रिबन मेयर रेनुलाई तान्न लगाए । तीनैजनाले उक्त सडकको संयुक्त रुपमा उद्घाटन गर्दा दुई सरकारबीचको सुमधुर सम्बन्ध प्रकट भयो ।प्रधानमन्त्री प्रमुख अतिथि रहेको उक्त सडक उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै मेयर रेनुले विकास निर्माणमा कसैले राजनीति गर्न नहुने बताइन् ।
सत्तामा रहेको एमाले र प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच दूरी बढ्दै जाँदा रेनुले त्यसलाई कम गर्ने गरी सम्बोधन पनि गरेकी छन् । दाहालले संघीय बजेटमा यो सडक विस्तार भए पनि समयमा काम सक्न स्थानीय सरकारले धेरै पहलकदमी लिएको उल्लेख गरिन् ।
