जथाभावी फोहोर नगर्नू, एकजना पत्र काट्न बसेको छ : महामन्त्री गुरूङ
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबारे कटाक्ष गरेका छन् ।
मंगलबार बल्खुमा आयोजित शक्ति प्रदर्शन तथा आमसभामा उद्घोषणका क्रममा सहभागीहरूलाई जथाभावी फोहोर नगर्न र बोतल नफ्याँक्न सचेत गराएका हुन् । ‘जथाभावी फोहोर नगर्नुहोला, बोतल नफ्याँक्नु होला’, उनले भने, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ ।’
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको समूहको प्रदर्शनपछि काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार जरिवाना गराएको थियो । महानगरले राप्रपालाई २ पटक जरिवाना तिराइसकेको छ ।
तर उक्त जरिवाना शाहले अझैसम्म तिरेका छैनन् । महानगरले त्यसअघि ७ वैशाख २०८१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई १ लाख जरिवाना तिराएको थियो । २०८० चैत २७ गते राप्रपाले प्रदर्शन गर्ने क्रममा महानगरका विभिन्न क्षेत्र फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुर्याएको भन्दै जरिवाना तिराइएको थियो ।
काठमाडौं महानगरपालिकाले राप्रपालाई फोहोरमैला ऐन २०६८ को दफा ३९ अनुसार ५ हजार जरिवाना र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ९७ अनुसार आन्दोलनका क्रममा ट्राफिक आइल्याण्ड मर्मतका लागि २ सय २२ रुपैयाँ ८१ पैसा लागेकाले सोही अनुरूप जरिवाना गरेको जनाएको थियो ।
