प्रधानमन्त्री ओलीले आज मधेस प्रदेशसभामा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् ।
आज बिहान ११ बजे बस्ने मधेस प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको छ । सोही क्रममा ओलीले मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेतासँग संक्षिप्त भेटघाट गरेपछि हेलिकोप्टरमा सैनिक क्याम्प सिरहा जाने बताइएको छ ।
सदरमुकाम लहानमा शहीद हेमनारायण यादवको शालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा आयोजित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो साढे ३ बजेपछि ओली सोही हेलिकोप्टरमा राजधानी फिर्ता हुनेछन् । ओली भोलि केबलकार निर्माणमा विवाद उत्पन्न भएको ताप्लेजुङ जाने कार्यसूची रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री सातै प्रदेशको प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम अनुसार मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका हुन ।
