काठमाडौं महानगरकाे चाबी लिएर मेयर सम्पर्कविहीन, ताला फोडेर प्रशासकीय प्रमुखद्वारा ३ महिनापछि हाजिर
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारीहरूले कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन् ।
उपप्रमुख सुनीता डंगोल, वडाध्यक्ष तथा कार्यपालिका सदसस्यसहितको अनौपचारिक बैठकपछि उनीहरूले ताला फोडेर गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएका हुन् । गुरागाईँ ३ महिना १४ दिनपछि आज कार्यालय फर्किनुभएको हो । अनौपचारिक बैठकमा नगर प्रहरी प्रमुख राजु पाण्डेलाई उपप्रमुख डंगोलले तपाईँले लिखित आदेशमा ताला लगाएको कि मौखिक आदेशमा भनेर प्रश्न गरीन् ।
पाण्डेले मौखिक आदेशमा ताला लगाएको भनी जवाफ दिनुभएको थियो । पाण्डेले त्यस्तो प्रतिक्रिया दिएपछि कर्मचारीहरू थप आक्रोशित बनेका थिए । त्यसपछि कर्मचारीहरूले गुरागाईँलाई लिएर कार्यकक्षतर्फ लगेका थिए । कार्यकक्ष प्रवेश गरेपछि उहाँले हाजिर गर्नुभएको छ । त्यसअघि गुरागाईँसहितको बैठकमा उपप्रमुख डंगोलले प्रमुख शाहलाई कोठामा बसेर निर्देशन दिने नभइ कार्यालयमा आएर समस्या समाधानका लागि पहल गर्न सुझाव दिएकी छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईँलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि नै पत्र पठाएको थियो । तर, मेयर शाहले भने अर्को प्रशासकीय अधिकृत पठाइदिन ताकेता गर्दै आएका थिए । कार्यालय प्रवेश गर्न नपाएपछि गुरागाईँले काम गर्ने वातावरण बनाइदिन मन्त्रालयमा निवेदन दिँदै गुहार मागेका थिए ।
प्रमुख शाहले गुरागाईँलाई अवरोध गर्न नगर प्रहरी परिचालन गर्नुभएको थियो । कर्मचारीको सहयोगमा गुरागाई नगर प्रहरीको अवरोध छिचोल्दै कार्यालय प्रवेश गरेका थिए । मेयर शाहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि कारवाही गर्न छानबिन समिति बनाए । शाहले कार्यालय प्रवेशमै रोक लगाएपछि गुरागाईँले गत पुस ८ गतेदोखि हाजिर गर्न पाएका थिए ।
