पश्चगमन र यथास्थिति अहिलेको समाधान नभएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको भनाई
जनता अग्रगमनको पक्षमा रहेको तर्क
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पश्चगमन र यथास्थिति अहिलेको समाधान नभएको बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै विप्लवले पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद वर्तमान समस्याको समाधान भएको बताएका हुन् ।
काठमाडौँमा सुरु भएको बैठकमा विप्लवले बैठकको अध्यक्षता गर्दै नेपाली जनता अग्रगमनको पक्षमा रहेको बताए । नेपालमा पश्चगमनका पक्षमा केही राजावादीहरू सल्बलाएको भन्दै यसबारे विशेष निर्णय लिन पार्टी पोलिटब्युरोको अकस्मिक बैठक बसेको हो ।
बैठकमा राजावादीहरूको आन्दोलनबारे छलफल गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्ने, ध्रुवीकरणबाट आएका नेताहरूको कार्यविभाजन गर्ने, सामनाले सञ्चालन गर्ने सांस्कृतिक अभियानबारे छलफल हुने, देशभर आमसभा र गोष्ठी गर्ने स्थान र मिति तय गरिने र संघर्षका कार्यक्रमबारे निर्णय गर्ने नेकपा स्थायी समिति सदस्य अनिल सीले बताए । बैठक मंगलबारसम्म चल्ने छ ।
