राजावादी समूहको आगजनी र तोडफोडविरुद्ध नेकपा एकीकृतले देशव्यापी प्रदर्शन गर्ने
मृतकका परिवालाई क्षतिपूर्ति दिन माग
काठमाडौं । नेकपा एकीकृत समाजवादीले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको निजी तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफोड लगायतका कार्यको विरोधमा देशभर भण्डाफोर र प्रदर्शन गर्ने निर्णय गरेको छ ।
पार्टी स्थायी कमिटीको बैठकले राजावादी समूहले प्रदर्शनको क्रममा गरेको अराजकताप्रति देशव्यावपी रुपमा भण्डाफो र विरोध गर्ने निर्णय गरेको हो । आइतबार पत्रकार सम्मेलन गर्दै पार्टी केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाहीको माग गरेको जानकारी दिए ।
बैठकले अराजकतावादीको प्रदर्शनमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर हत्या, हिंसा, आगजनी, तोडफोड, लुटपाट नियन्त्रण गर्न र शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएको ठहर गरेको छ ।
उनले प्रदर्शनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई उचित क्षतिपूर्ति दिन माग समेत गरे । उनले सञ्चार गृहमाथि आक्रमण गरेर प्रस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्र्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको बताए ।
