अध्यक्ष दाहालले स्थायी समितिमा उठेका प्रश्नको जवाफ आज दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सम्पन्न हुने भएको छ । एक सातादेखि जारी बैठकमा नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहालले जवाफ दिएर आज बैठक सम्पन्न गर्न लागिएको हो ।
स्थायी कमिटी सदस्यहरूले राखेका धारणा र चासोका आधारमा आज उनले जवाफ दिएर बैठक सम्पन्न गर्ने तयारी रहेको बताइएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु हुनेछ ।
गत शुक्रबार शुरु भएको बैठकमा पार्टीको सांगठनिक अवस्था, देशको अवस्था तथा अन्तर्राष्ट्रिय राजनीति बारेसमेत छलफल भएको थियो । बैठकमा उपमहासचिव जनार्दन शर्माले नेतृत्व परिवर्तन गर्ने प्रस्ताव अघि सारेका थिए। उहाँले अध्यक्षसहित सबै पदाधिकारीले नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
