नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
नेपालको कार्यशैली हेरेर मत दिने विस्वास व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी मन्त्री डा. देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरुलाई सो आग्रह गरेकी हुन् ।
मन्त्री डा. राणाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनमा क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरीन् ।
समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसंघीय स्थायी नियोगप्रमुख तथा राजदूत र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेश गर्दै शान्ति प्रक्रियाका बाँकी रहेका कामलाई पनि छिट्टै टुंग्याउने गरी संक्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जनाइएको छ ।
