नेपालमा समृद्धि सम्भव छ, सबै मिलेर काम गर्यौं भने छिट्टै आर्थिक रूपमा आत्मनिर्भर बन्छ : कांग्रेस प्रवक्ता महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध बन्न सक्छ भन्दै ढिलोचाँडो आर्थिक तथा सामाजिक विकासको गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । खाडी मुलुकका नेपाली जनसम्पर्क समितिहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी डा. महतले नेपाली जनसम्पर्क समिति, दुबईको विशेष कार्यक्रममा यस्तो धारणा राखेका हुन् ।
उनले नेपालको भविष्य उज्ज्वल रहेको उल्लेख गर्दै केही तत्वहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्दै निराशावादी सोच फैलाउने प्रयास गरिरहेको बताएका छन् । महतले भने, 'केही समूह देशबारे नकारात्मक प्रचारमा लागिपरेका छन्, तर वास्तविकता फरक छ। नेपालमा अपार सम्भावना छ, र यसलाई सही रूपमा उपयोग गर्न सक्ने नेतृत्व आवश्यक छ ।'
उनले नेपालबारे नकारात्मक धारणा चिर्न विदेशमा रहेका नेपाली समुदाय, विशेष गरी जनसम्पर्क समितिका सदस्यहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । प्रवक्ता डा.महतले नेपालले विगतमा धेरै उथलपुथल सामना गरेकाले विकासमा केही अवरोध आएको स्वीकार्दै अब भने देश द्रुत गतिमा समृद्धिको दिशामा अघि बढ्ने दाबी गरे ।
नेपालको जलविद्युत् क्षेत्र आर्थिक समृद्धिको प्रमुख आधार हुन सक्ने बताउँदै डा. महतले हाल देखिएको हाइड्रो पावरमा लगानीको आकर्षणले नेपाललाई आत्मनिर्भर बनाउन ठूलो मद्दत गर्ने उल्लेख गरेका छन् । उनले नेपालको अर्थतन्त्र अझै पनि वैदेशिक रोजगारमा अत्यधिक निर्भर रहेको बताउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
