माओवादी केन्द्रले चैत मसान्तसम्म ७५३ वटै पालिकामा वडास्तरीय भेला गर्ने
पार्टीको नीति अनुसार काम गरेर आफ्ना पालिकालाई रोल मोडल बनाउन सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिको दुई दिने राष्ट्रिय भेला चैत मसान्तसम्म सातै प्रदेशमा वडास्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गर्दै सम्पन्न भएको छ ।
शनिबारदेखि काठमाडौंमा सुरु भएको विज्ञसहितको भेलालाई निरन्तरता दिने गरी आइतबार सम्पन्न भएको हो । स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणमा जनप्रतिनिधिको तर्फबाट ९ जनाले अनुभूतिजन्य रिपोर्ट प्रस्तुत गरेका थिए ।
भेलालाई समापन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले विज्ञले दिएको सुझाव, केन्द्रीय समिति बैठकले पारित गरेको दस्ताबेज, पार्टीको घोषणापत्रको आधारमा काम गर्न प्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले स्थानीय तहमा समाजवाद निर्माणका लागि भेला महत्त्वपूर्ण भएको दाबी गर्नुभयो । माओवादीले जितेका पालिकालाई ‘रोल मोडेल’ बनाउने गरी समीक्षा भएको उनको भनाइ छ ।
यस्ता कार्यक्रम पहिलेदेखि नै गरेको भए पनि बिचमा निरन्तरता दिन नसकिएको सम्बन्धमा समीक्षा भएको उनले बताए । स्थानीय तहमा, सुशासन र समृद्धिको पक्षमा जनताले प्रश्न उठाउन नसक्ने गरी राम्रो काम गर्न अध्यक्ष दाहालले जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।
