एकीकृत समाजवादीको ३ महिने आन्दोलन कार्यतालिका प्रस्ताव
राजनीतिक संकट र त्यसको समाधानसम्बन्धी सार्वजनिक सुझाव आह्वान गर्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तीन महिने आन्दोलन कार्यक्रमको तालिका प्रस्ताव गरेका छन् ।
ललितपुरको जावलाखेलमा सुरु भएको पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकमा महासचिव भुसालले आन्दोलनद्वारा पार्टी निर्माणको तात्कालिक योजना अन्तर्गत आन्दोलनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।
भुसालले गरेको प्रस्तावअनुसार यही फागुन तेस्रो साता गर्ने पत्रकार सम्मेलनमा मुलुकको अर्थ राजनीतिक संकट र त्यसको समाधानसम्बन्धी अभियानबारे धारणा राख्ने तथा त्यसबारे सार्वजनिक रूपमा सुझावहरू आह्नवान गर्ने उल्लेख गरे । त्यस्तै चैत १५ गतेसम्म केन्द्रीय तहमा सुझाव संकलनका विभिन्न कार्यक्रम गर्ने र त्यसअन्तर्गत पार्टीका सबै जनसंगठन, विभागसहित अन्य संघ संस्थाहरुबाट सुझाव संकलन गर्ने प्रस्ताव भुसालको छ ।
त्यसपछि चैत २० गते सरकारलाई पार्टीका माग पेस गर्ने, त्यसबिचमा जिल्ला अधिवेशनहरू गर्ने, वैशाख २० गते प्रदेश सरकार र पालिकाहरूमा माग पेस गर्ने र जेठ १० गते काठमाडौंमा प्रदर्शन गर्ने भुसालको प्रस्तावित योजनामा उल्लेख छ । जेठ तेस्रो साताबाट बजेट र आफ्ना मागका बारेमा पत्रकार सम्मेलन गरी नयाँ कार्यक्रम घोषणा गर्ने कार्ययोजनामा उल्लेख छ । केन्द्रीय कमिटी बैठकले ती योजना पास भएपछि कार्यान्वयनमा जानेछन् ।
