सहिद साझा सम्पत्ति भएकाले सम्मान गर्नु राज्यको दायित्व भएको अध्यक्ष दाहालको दाबी
सबै आन्दोलनका सहिदको नाम आफूले राजपत्रमा प्रकाशित गरेको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहिदको बलिदानका कारण नै आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।
अध्यक्ष दाहालले सहिदहरु देशका साझा सम्पत्तिको रुपमा रहेकाले सहिदको सम्मान गर्नु राज्यको दायित्व भएको बताएका हुन् ।
गोरखा नगरपालिका १४ गोप्लिङस्थित एकै घरबाट तीन जना सहिद भएका नहर्की परिवारसँग भेट गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीले सहिद तथा बेपत्ता परिवार घाइते योद्धाहरुको योगदानलाई प्राथमिकतामा राख्दै आएको उनको दाबी छ ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गर्दा जनयुद्धसहित आजसम्मका सबै आन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेर राष्ट्रिय सहिदको रुपमा स्थापित गरेको उनको दाबी छ ।
सहिदको रगतका कारण आएको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा पार्टी निरन्तर जुटेको उल्लेख गर्दै अध्यक्ष दाहालले अब बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न अभियानात्मक रुपमा अघि बढ्ने जानकारी दिए ।
