पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित
प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गरेका छन् । कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यार्थीलाई हात्ती देखेर भाग्ने भन्दा तालिम दिएर माउते हुन आग्रह गरेका हुन् ।
विश्वविद्यालयलाई रुपान्तरणकारी काम गर्न आग्रह गरे । विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरेका छन् । दीक्षित विद्यार्थीलाई ओलीले आत्मविश्वास र इमानपूर्वक समाजका लागि सकारात्मक काममा प्राप्त ज्ञान उपयोग गर्न अनुरोध गरे ।
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार ८७२ विद्यार्थीलाई दीक्षित गराएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ ।
