सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीकाे निर्णय
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटी बैठकले संसद् अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेश जारी गर्नु गलत भएको ठहर गरेको छ ।
बैठकले अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, ऐन कानुन, संसद् नियमावली र स्थापित अभ्याससमेत मिचेर विधेयक ल्याउनु प्रक्रियागत रूपमा नै गलत रहेको उनले बताए ।
ज्वालाले अध्यादेशहरूबाट भूमाफिया, कालोबजारिया, राजस्व छली गर्ने व्यक्ति, बिचौलिया, भ्रष्टाचारी, तस्कर र दलालहरूलाई फाइदा पुग्ने निष्कर्ष निकालिएको जानकारी दिएका छन् । त्यस्तै बैठकले भारतको ओडिसास्थित एक क्याम्पसमा नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति सत्य तथ्य छानबिन गरी दोषिलाई कारबाही गर्न र विद्यार्थीलाई सुरक्षाको प्रत्याभूति हुने गरी व्यवस्था मिलाउनका लागि कूटनीतिकलगायत आवश्यक पहल गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै स्थायी कमिटीको बैठकले अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, र आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनासहितका एजेन्डा पारित गरेको बताइएको छ ।
