एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे शुरु हुनेछ । एकीकृत समाजवादीले यही फागुन ८ र ९ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । उक्त बैठकको एजेण्डा तय गर्न आज स्थायी कमिटीको बैठक बोलाइएको छ ।
केन्द्रीय कमिटी बैठकले पार्टीको संगठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्तिबीच एकता, समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे निर्णय गर्नेछ ।
संविधान संशोधनका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने बैठकमा पार्टीका नेताहरूलाई दिइएको भूगोल केन्द्रित जिम्मेवारी तथा कार्य प्रगतिको छलफल गर्ने जनाइएको छ ।
