वैयक्तिक गोपनियताको संरक्षण चुनौतिपूर्ण छ : प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पारदर्शिता, सूचनाको हकको प्रत्याभुति र वैयक्तिक गोपनियताको संरक्षण चुनौतिपूर्ण रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा पाँचौं ल एशिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सीमान्तकृत समुदायको हित र अल्पसंख्यक एवं लोपोन्मुख सम्प्रदायको नैसर्गिक हकको संरक्षणमा राज्य र गैरराज्य संस्थाहरुको क्रियाशिलता पनि अपरिहार्य रहेको बताएका हुन् ।
उनले व्यक्तिको असंलग्नतामा प्रविधिबाट हुने मानव अधिकारको उल्लंघनका कार्यमा कानूनी एवं न्यायिक उपचारलाई मार्ग प्रशस्त गर्नुपर्ने अवस्था रहेको प्रष्ट पारे । उनले सूचनामा अवैध पहुँचको नियन्त्रण र सूचनामा सुरक्षा तथा उपयुक्त प्रयोगलाई राज्यका कानूनले सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
प्रधानन्यायाधीश राउतले समयानुकुल मानव अधिकरको सवालहरुमा आजको कानून एवं न्यायिक दक्ष जनशक्तिको भुमिका अपेक्षित रहेको तर्क गरेका छन् ।
