बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले थाल्यो अनुसन्धान
काठमाडौं । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले अनुसन्धान थालेको छ ।
नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा अनियमितता भएको भनिए पनि तत्कालीन अध्यक्ष रिता सिंह वैद्यलाई उन्मुक्ति दिएको विषयमा शुक्रबार छानबिन सुरु गरिएको आयोगले जनाएको छ ।
सत्ता र शक्तिको आडमा निज उपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौंले निर्णय गरेको सार्वजनिक भएसँगै अनुसन्धान थालिएको जनाइएको छ । आयोगले उक्त घटनाको स्व-विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान प्रारम्भ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिन भित्र उपलब्ध गराउन पत्राचार समेत विज्ञप्तिमा उल्लेख गरेको छ ।
