सिमेन्टको मूल्यवृद्धिविरुद्ध सर्वोच्चमा सांसद् अन्सारीको रिट दर्ता
काठमाडौं । माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सिमेन्टमा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रणको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । माओवादी केन्द्रका मधेस प्रदेश सांसद रहबर अन्सारीले सर्वोच्च अदालतमा मंगलबार रिट दायर गरेका हुन् ।
अन्सारीको रिटमा नेपालको संविधानको धारा ४६ र १३३ (२) (३) को आधारमा परमादेशलगायत अन्य आवश्यक आदेश जारी गरी पाउँ भनिएको छ । रिटमा नेपाल सरकारका गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल सिमेन्ट उत्पादक संघलाई विपक्षी बनाइएको छ ।
रिटमा कात्तिक १ गते ओपीसी सिमेन्टको करसहित प्रतिबोरा ४७२ रुपैयाँमा बिक्री गरेकोमा मंसिर १७ गतेसम्म ६३० रुपैयाँमा उद्योगले बेच्ने गरेको उल्लेख छ । रिटमा उठान गरिएको विषय सार्वजनिक चासोको विषय भएकोले यो विषय किनारा नहुञ्जेलसम्म तत्काल सिमेन्ट स्वाभाविक रूपमा, पहिलेको उचित मूल्यमा उपलब्ध गर्न गराउन निवेदकको माग छ ।
