थुनामा राख्ने आदेशविरुद्ध छविलाल जोशी पुगे उच्च अदालत
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत रुपन्देहीको आदेशविरुद्ध पूर्वडीआईजी छविलाल जोशी उच्च अदालत पुगेका छन् ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई सोमबार पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो । जोशीका छोरा रोचक जोशीले थुनामा पठाउने सो आदेश र ठहर खण्डमा उल्लेखित विषय पूर्वाग्रही रहेकाले उक्त आदेश बदर माग गर्दै निवेदन दर्ता गराएका हुन् ।
७३ नं. निवेदनमार्फत जोशीको तर्फबाट उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता भएको हो । यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख धरौटीमा रिहा भएका थिए ।
