'आफ्नो प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्न सकेको'
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले आफूले कमान्ड गरेको नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकमाथि प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद् खनालले गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्न सकेको भन्दै प्रश्न गरेका हुन् ।
उनले भने, ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्रन नेपाल प्रहरीले अनुसन्धान गर्ने पनि हिम्मत गरेन छ । त्यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ । उहाँहरूले लेख्नुभएको छ -क्याम्पसको कक्षा कोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो । तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र रु कृपया यसको बारे बोलिदिनु न ।’
उनले कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाइने त कहिले सत्ता टिकाउन पर्ने बहानामा अखिल समर्थक विद्यार्थीहरूलाई प्रहरीले अनुसन्धान गर्न पनि आँट नगर्ने भनेर सरकारको आलोचना गरे ।
