नेसपाको दलित उपाध्यक्षमा दुर्गा सोब र महिला उपाध्यक्षमा मानुषी यमी भट्टराईको एकल उम्मेदवारी
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) नयाँशक्ति पार्टीका दलित उपाध्यक्ष पदमा दुर्गा सोब र महिला उपाध्यक्ष पदमा मानुषी यमी भट्टराईको एकल उम्मेदवारी परेको छ ।
आदिवासी जनजाती उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ । जसमा रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुपसिंह सुवाल र दलबहादुर लिम्बु छन् ।यसैगरी मधेशीरथारु उपाध्यक्षमा उमेश साह र चिनक कुर्मीको उम्मेदवारी परेको छ । उपाध्यक्ष ५ जनामध्ये महिला, खसआर्य, आदिवासी जनजाति, मधेशीरथारू, दलित कोटाबाट चुनिने छन् ।
नेसपा नयाँशक्तिको संशोधित विधान अनुसार केन्द्रीय समिति ९९ सदस्यीय हुनेछ । केन्द्रीय समितिमा ९० जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् चुनिने छन् । ९ जना भने मनोनीत हुनेछन् । पदाधिकारीको संख्या ११ हुनेछ । आइतबारदेखि काठमाडौंमा सुरु भएको महाधिवेशन अन्तर्गत गएराति उम्मेदवारी दर्ताको कार्यक्रम थियो । आज दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा गरेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुने छ ।
अध्यक्ष पदमा भने डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ । यसैगरी महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपाको मनोनयन दर्ता भएको छ । खुला सचिवमा भरतराज दाहाल, दानबहादुर सहकारी, लक्ष्मण कार्की र छन्दबहादुर पन्थीको उम्मेदवारी परेको छ । महिला सचिवमा श्रीजना सुवेदी, आशाकुमारी तामाङ र सृजना रिजाल नेपालले उम्मेदवारी दिएका छन् । कोषाध्यक्ष पदमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन् ।
