बीपी राजमार्ग आसपासमा क्रसरको दोहन सुरु भएको भन्दै त्यसको रोक लगाउन लेखनाथ दाहालकाे माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् लेखनाथ दाहालले गत असोजमा गएको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्ग आसपासमा क्रसरको दोहन सुरु भएको भन्दै त्यसको रोक लगाउन माग गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद् दाहालले बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा अहिले पानी नभएर लेदो बगिरहेको बताएका हुन् । उनले बाढी गएको लामो समयसम्म पनि पुनर्निर्माण र राहतका लागि संघीय सरकारको उपस्थिति नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गरेर राजमार्ग पुनर्निर्माण गर्न माग गरे ।
‘असोजमा गएको बाढीबाट क्षतिग्रस्त भएको वीपी राजमार्ग पुनर्निर्माण र पीडितलाई राहत दिने काममा सङ्घीय सरकारको उपस्थिति देखिएन’, उनले भने, ‘वीपी राजमार्गको पुनर्निर्माण नै सुरु भएन । त्यतिमात्र होइन, त्यहाँ चलेका अवैध क्रसरका कारण रोशीमा पानी भन्दा बढी लेदो बग्छ ।’
