आफ्नो सम्बोधनमा प्रधानमन्त्री ओली उपस्थित नभएको भन्दै प्रचण्डको गुनासो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसदमा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएकोप्रति गुनासो गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधन गर्नका लागि झण्डै एक साताअघि नै संसद सचिवालयमा नाम टिपाएका थिए ।
‘प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थिति हुने प्रावधान छ । मैले प्रधानमन्त्रीजी आउँदै हुनुहुन्छ होला भन्ने सोचेको थिएँ,’ प्रचण्डले भने, ‘सत्तापक्षको सबैभन्दा ठूलो दलको नेता पनि आउनुहुन्छ होला भन्ने सोचेको थिएँ । तर, अहिलेसम्म आउनुभएको छैन ।’
प्रचण्डले सम्बोधन गर्दागर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने बैठककक्षमा पुगेका छन् । उनले देउवालाई ढिलै भएपनि बैठकमा पुगेकोमा धन्यवाद व्यक्त गरे ।
