भ्रष्टाचार र अनियमितता रोक्न कांग्रेसले ल्यायो जनप्रतिनिधिका लागि निर्देशिका
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका तयार गरेको छ । कांग्रेसले पार्टीका तर्फबाट निर्वाचित तीनै तहका जनप्रतिनिधिको कार्यसम्पादन आगामी दिनमा अझ प्रभावकारी बनाउन निर्देशिका बनाएको हो ।
निर्देशिकाले जनप्रतिनिधिलाई आमनागरिकको भावना सम्बोधन गर्दै ऊर्जाका साथ कार्य गरेर तोकिएको जिम्मेवारी सम्पादनमा सघाउने विश्वास कांग्रेसले दिएको छ । पोखरामा जारी दुई दिने अभिमुखीकरण कार्यक्रमको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको कार्यपत्रमा निर्देशिकाबारे जानकारी गराइएको छ ।
जनप्रतिनिधिको कार्यसम्पादन जनमुखी र थप प्रभावकारी बनाउने उद्देश्यसहित बनाइएको निर्देशिकाको पालना र कार्यान्वयन गर्नु पार्टीबाट निर्वाचित तीनै तहका जनप्रतिनिधिको अनिवार्य कर्तव्य र विशेष दायित्व हुने पनि कार्यपत्रमा उल्लेख छ । निर्वाचनमा पार्टीको घोषणा पत्र कार्यान्वयनमा जनप्रतिनिधिले सम्भव भएसम्म विशेष भूमिका निभाउनु पर्ने निर्देशिकमा उल्लेख छ ।
यस्तै गठबन्धन भएको अवस्थामा जनप्रतिनिधिले न्यूनतम् साझा कार्यक्रम कार्यान्वयनमा ध्यान केन्द्रित गर्नुपर्ने भनिएको छ । संघ र प्रदेश दुवै तहका सदस्यहरू आ–आफ्नो संसदीय निर्वाचन क्षेत्रको प्रत्येक पालिकामा सामन्यतयाः दुई महिनामा कम्तिमा एक पटक अनिवार्य पुग्नुपर्ने, आफूलाई निर्वाचित गराउने भूगोलका मतदाताको भावना र विश्वासलाई सदैव केन्द्रमा राखेर तीनै तहका जनप्रतिनिधिले कार्यसम्पादन गर्नुपर्ने निर्देशिकमा उल्लेख छ ।
