sevenstartv.com २१ वैशाख २०८३, सोमवार

चितवन जिल्ला अदालतमा उपस्थित भए रवि लामिछाने

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयानका लागि उपस्थित भएका छन् । उनी केहीबेरअघि अदालत प्रवेश गरेका हुन् ।

उनीविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । त्यसैले उनी आज बयान दिन अदालत पुगेका हुन् ।

बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ । त्यसपछि न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्ने निर्णय गर्नेछन् । रास्वपा सभापति लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । 

कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । मुद्दा दर्ता भएकै दिन जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलको काठमाडौंमा काम सरुवा गरिएको थियो ।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताएका थिए ।

अभियोग पत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोडका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्