sevenstartv.com २० वैशाख २०८३, आइतवार

आजका प्रमुख सात समाचार

२९ साउन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।

टीआरसी विधेयक

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस प्रतिनिधि सभामा पेस भएको छ ।

मङ्गलवारको प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रस्तुत गरेकी हुन् । 

उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिए जसरी नै पारित गरी कार्यान्वयन गर्नेसम्म एकै ठाउँमा उभिनुपर्ने बताइन्  ।

सबै राजनीतिक दलहरू एक ठाउँमा उभिए आगामी दिनमा आइपर्ने जस्तोसुकै चुनौती पनि सामना गर्न सकिने बताइन् । 

विधेयक सदनबाट सर्वसम्मतिले पारित भए देशमा द्वन्द्वको अवस्था नआउने बताइन । 

यसैबीच आजै टीआरसी विधेयक विरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । संसद्मा छलफलका लागि पेस भएको विधेयकविरुद्ध अधिवक्ता श्यामकृष्ण मास्केले सर्वोच्च अदालत रिट हालेका हुन् । अधिवक्ता मास्केले प्रस्तावित विधेयक केही बुँदा संविधान, कानुन र नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि–सम्झौता तथा अन्तर्राष्ट्रिय अभ्यास विपरीत भएको जिकिर गरे ।

शून्य समयमा सांसद

बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणबारे सरकार मौन बस्नु नहुनेमा सांसदहरूले जोड दिएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनीहरूले बंगलादेशका पछिल्ला घटनाक्रमबारे संसदमा धारणा राख्दै सो बारेमा ध्यानाकर्षण गराएका हुन् । सांसदहरूले उनीहरूले सरकारले सो बारेमा आफ्नो धारणा बनाउनुपर्ने माग गरेका छन् । 

नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले अल्पसंख्यक हिन्दु र बौद्ध धर्मावलम्वीहरुमाथि भएको आक्रमणको विषय सरकार मौन बस्न नहुने बताए । सांसद केसीले अल्पसंख्यक हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुमाथि भएको क्रूर आक्रमणको निन्दा गर्दै सरकार मौन रहेकोमा दुःख व्यक्त गरे । 

उनले बङ्गलादेशमा भएको ‘कु’ को मूल कारण व्यापक भ्रष्टाचार र शासकको निरंकुशता, अहंकार, दम्भ र प्रतिशोध भएको पनि दाबी गरे ।

बैठकमा नेकपा एमाले सांसद किरणकुमार साहले पनि बंगलादेशमा हिन्दुहरूमाथि भएको हिंसाका विषयमा मौन बस्न नहुने बताए । 

उनले छिमेकी बंगलादेशमा हिन्दुहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष भित्र सडकमा बालबालिका रहने स्थितिको अन्त्य गर्ने बताएका छन् । 

मंगलवार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रममा बोल्दै उहाँले बालबालिका सडकमा हुनु नहुने बताए । 

उनले बालबालिकाहरू अभिभावकविहीन भएर सडकमा अलपत्र पर्ने अवस्थाको अन्त्य गर्ने बताए । उनले  बालबालिकालाई सडकमा अलपत्र भएको हेर्न नसक्ने बताए 

प्रधानमन्त्री ओलीले वर्षमा ५ लाख रोजगारी आवश्यक पर्ने बताए । 

शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि दुर्घटना भएको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए । उनले दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए । उनले सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए । 

नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे । 

रमेश खरेल

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध भ्रष्टाचार गरेको भन्दै उजुरी दिएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनले उजुरी गरेका हुन् । घिसिङले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी पीपीए गरेको खरेलले उजुरीमा उल्लेख गरेका छन् । 

६६ वटा कम्पनीसँग पीपीए गर्दा कानुन मिचिएको र त्यसले राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको खरेलको दाबी छ । ऊर्जा उत्पादक कम्पनीसँग विद्युत् खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उजुरीमा उल्लेख छ । विद्युत् नियमन आयोगको स्वीकृति लिँदा आयोगलाई शुल्क बुझाउनुपर्नेमा विना स्वीकृति पीपीए गरेर राज्यलाई घाटा पुर्‍याउने काम भएको दाबी गरिएको छ । यस्तै घिसिङले प्राधिकरणलाई नक्कली नाफामा देखाएको पनि उजुरीमा उल्लेख छ ।

गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको आरोप लगाउँदै तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा उहाँले करोडौँ सहकारीमा ठगी गरेका तत्कालीन गृहमन्त्री लामिछाने तत्काल छानबिन गरी कारबाहीको दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका हुन् । 

तत्कालीन प्रमुख प्रतिपक्ष दलको सांसदको हैसियतमा लेखकले लामिछानेले पोखराको सूर्य दर्शन सहकारीबाट करोड रुपैयाँ बुझिलिएको प्रमाण पेस गरेको उल्लेख गर्दै महामन्त्री थापाले सोही प्रमाणको आधारमा उहाँमाथि छानबिन गर्नुपर्ने बताए । उनले जतिसुकै शक्तिशाली भए पनि सरकारले अनुसन्धानको दायरामा ल्याएर आफू को हुँ भन्ने प्रमाणित गरेर देखाउनुपर्ने पनि बताए ।

उनले प्रतिपक्षमा रहँदा गिरिबन्धु टी स्टेट, भुटानी शरणार्थी प्रकरणमा घोटाला देख्ने तर सत्तामा आएपछि देख्दै नदेख्ने काम सरकारले गर्न नहुने पनि दोहोर्‍याए । 

शेयर बजार

सोमबार ७०.८१ अंकले बढेको नेप्से मङ्गलवार ८ दशमलव १८ अंकले करेक्सन भएको छ ।

मङ्गलवार नेप्सेमा कारोबार रकम समेत घटेको छ । मङ्गलवार नेप्सेमा २१ अर्ब ५१ करोड ५० लाख १० हजार बराबरको कारोबार भयो । जबकि सोमबार अहिलेसम्मकै धेरै २७ अर्ब २४ करोड २९ लाख ३४ हजार बराबरको कारोबार भएको थियो । 

मङ्गलवार नेप्सेमा भएको शेयर कारोबारमा १५७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट भयो भने ८० वटा कम्पनीको शेयर मूल्यमा मात्रै वृद्धि भयो ।

६ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेको तथ्यांकले देखाएको छ । समूहगत आधारमा हेर्दा मङ्गलवारको कारोबारमा बैंकिङ सूचक, फाइनान्स सूचक, लगानी सूचक, जीवन बीमा सूचक र व्यापार सूचक सकारात्मक रह्यो भने अन्य सूचकहरू नकारात्मक रहे । 

त्यस्तै मङ्गलवार नेप्सेमा भएको शेयर कारोबारमा मातृभूमि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाए भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्