सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे पुनः आग्रह
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई नेपालमा दर्ता हुन पुनः आग्रह गरेको छ । मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न भन्दै सोमबार दोस्रो पटक सूचना प्रकाशित गरेर दर्तामा आउन आग्रह गरेको हो ।
सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जारी गरेको सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनिएको छ । यसअघि पनि सरकारले फेसबुक, एक्स, टिकटक, लिंक्डइन लगायतका सामाजिक सञ्जाललाई ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ को प्रावधानअनुरुप सूचिकृत हुन पटक पटक आग्रह गर्दै आएको छ ।
मन्त्रालयको सूचनामा सामाजिक सञ्जालको दर्ता, नियमन र निगरानी सम्बन्धी प्रावधान समावेश छन् । मन्त्रालयका अनुसार ‘यो कदमले अनलाइन प्लेटफर्मको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत’ गर्नेछ ।
निर्देशिकामा सामाजिक सञ्जाल प्लेटफर्मले नेपालमा आफ्नो सेवा प्रदान गर्नुअघि अनिवार्य रूपमा दर्ता गर्नुपर्ने, आपत्तिजनक सामग्रीको निगरानी र हटाउने प्रक्रिया सुनिश्चित गर्नुपर्ने र प्रयोगकर्ताको गोपनीयता तथा डाटा सुरक्षामा विशेष ध्यान दिनुपर्ने प्रावधान समावेश छन् ।
