पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइतेकाे उपचारको व्यवस्था गर्न योगेशकुमार भट्टराईकाे माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा भएको झडपमा घाइते भएकाको उपचारको व्यवस्था गरी अविलम्व वार्ताको माध्यमबाट समस्या समाधान गर्न माग गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङमा निर्माणाधिन पाथीभरादेवी मु–कुम्लुङ केबलकार सम्बन्धमा धारणा सार्वजनिक गर्दै ताप्लेजुङका सांसद भट्टराईले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकार सबैको भएको भएपनि शान्तिपूर्वक र सूसभ्य हुनुपर्ने बताएका हुन् । उनले केवलकार निर्माण कम्पनी र स्थानीयको समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गरिनुपर्ने बताए ।
उनले परिस्थितिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले कसैको हित नगर्ने भन्दै आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन आग्रह गरे । उनले सरकारसँग पनि गिरफ्तार भएका व्यक्तिहरु रिहा गरी घाईतेहरुको उपचारको व्यवस्था गर्न माग गरेका छन् । उनले केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारवाहीलाई सहभागीतामुलक तथा पारदर्शी ढंगले अघि बढाउन माग गरेका छन् ।
उनले केबलकार कम्पनीले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षभन्दा मुनिका बालबालिका तथा अपाङ्गहरुका लागि निःशुल्क सेवा दिने घोषणा गर्नुपर्ने बताए । सांसद् भट्टराईले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ शेयरको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
