आज शहीद दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा आज शहीद दिवस मनाइँदैछ ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइन्छ ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा शहीद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा र माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा मृत्युदण्ड दिइएको थियो । गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।
२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । अचेल माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने गरिएको छ ।
