रातो मसीले रेजा लगाएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्ने अखिल क्रान्तिकारीका तीन उम्मेदवारकाे माग
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्षका तीन उम्मेदवारले रातो मसीले रेजा लगाएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्ने माग राखेका छन् ।उम्मेदवार त्रय हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मतदान भएको बाल्मीकी क्याम्पसमा नै मतगणना हुनुपर्ने माग गरेका हुन् ।
उनीहरुले बाँकी विषय थाँती राख्दै मतदान पश्चात बाल्मीकी क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्डबारे संयुक्त सुझाव पनि दिएका छन् । रेजाको लागि निर्वाचन समितिले व्यवस्था गरेको रातो मसी कलमद्वारा रेजा लगाइएको मत मात्र गणना गरिनुपर्ने र रातो कलमबाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनुपर्ने उनीहरुको माग छ ।
विश्वविद्यालय प्रदेश र उपत्यका विशेष प्रदेशको मतगणनामा यसअघि मतपत्रमा कालो र रातो रंग प्रयोग भएको भन्दै विवाद भएपछि गणना रोकिएको थियो । तीन उम्मेदवारले कालो मसी भएको फर्जी मत भएको हुनसक्ने आशंका गरेका छन् ।
