ललितपुर महानगरपालिकाले गर्याे साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ
काठमाडौं । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । आईतवार महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरिएको कार्यक्रमको सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ साप्ताहिक ट्राफिक सचेतना शुरु गरिएको महानगरको भनाइ छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख महर्जनले हालैमात्र महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरेको बताए ।
केही कठिन काम भएपनि कार्यान्वयन शुरु गरेको र अब ३६५ दिन नै अनवरत रुपमा कहिल्यै ननिभ्ने गरी सञ्चालन हुने बताएका छन् । नियम भंग गर्ने सवारी साधन चालकहरुलाई कारबाही गर्ने बताए । अर्को वर्ष पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म र जावलाखेलबाट लगनखेल हुँदै हरिसिद्धिसम्म र जावलाखेलबाट एकान्तकुना-भैंसेपाटी हुँदै बुङमतीसम्म इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चलनमा ल्याउने बताएका छन् ।
