रविको थुनछेक बहस आज पनि जारी
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि जारी रहने भएको छ ।
बिहीबार न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जिल्ला सरकारी वकिलका तर्फबाट ८ जनाले बहस सकेपछि जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । आज शुरुमा जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । त्यसपछि प्रतिवादी रवि लामिछानेका कानुन व्यवसायीले बहस गर्नेछन् ।
लामिछानेका तर्फबाट बहश गर्न १० जनाभन्दा बढी कानून व्यवसायीले वकालतनामा बुझाएका छन् । प्रतिवादीको तर्फबाट बहस सकिएपछि जवाफी बहस हुनेछ । भ्याएसम्म आजै थुनछेक आदेश गराउने तयारी रहेको छ ।
अदालतले लामिछानेलाई साधारण तारेख वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ । यसअघि लामिछाने कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका थिए ।
