खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिन्छ : प्रथम राष्ट्रपति यादव
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले खेलकुदमार्फत विश्वमा शान्ति र सद्भावको सन्देश फैल्याउन सकिने बताएका छन् ।
सोमबारबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा शुरु भएको अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि-२० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै उनले पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान स्थापित गर्न सफल भएको बताएका हुन् । उनले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए ।
क्रिकेटबाट अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ । खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास व्यक्त गरे । उनले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।
