कर्णाली प्रदेश सभा बैठक बस्दै
काठमाडौं । कर्णाली प्रदेश सभा बैठक आज दिउँसो बस्ने भएको छ । संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख यज्ञराज जोशीले दोस्रो कार्यकालको पाँचौँ अधिवेशन आज दिउँसो १ बजेका लागि आह्वान गरेका हुन् ।
बैठक बस्ने भएसँगै दलहरूले आ-आफ्नो तयारी गरेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले आइतबार संसदीय दलको बैठक बसेर समसामयिक विषयमा छलफल गरेको छ । संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही सरकारका कामकारबाहीबारे खासै सन्तुष्ट छैनन् ।
शनिबार कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएका थिए । आइतबारको बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेको जनाइएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले संसदीय दलको बैठक अहिले बसिरहेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाइले मुख्यमन्त्री समेत रहेका दल नेता यामलाल कँडेलको अध्यक्षतामा बैठक बसिरहेको र उक्त बैठकमा एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, प्रदेश अध्यक्ष गुलावजंग शाहपनि उपस्थित रहेको बताए ।
