स्थानीय तहको रिक्त पदमा मंसिर तेस्रो साता उपनिर्वाचन गर्न आयोगको सुझाव
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहहरुको रिक्त पदमा उपनिर्वाचन गर्न मंसिर तेस्रो साताको मिति उपयुक्त हुने सुझाव दिएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे भएको छलफलमा यस्तो सुझाव दिएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरे ।
मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ । छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौला लगायत सहभागी थिए ।
