निकोलसमाथि साइबर अपराधको मुद्दा दर्ता
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको तस्वीर सार्वजनिक गर्ने डा. निकोलस भुसालविरुद्ध विद्युतीय कारोबार ऐनविरुद्धको कसुर (साइबर अपराध) मा मुद्दा दर्ता भएको छ । शुक्रबार जिल्ला अदालत कास्कीमा उनीविरुद्ध मुद्दा दर्ता भएको हो ।
साइबर अपराध मुद्दामा उनी बिहीबार दोस्रोपटक पक्राउ परेका थिए । शुक्रबार नै जिल्ला अदालत कास्कीमा बयान गराइएको छ भने थुनछेक बहस पनि गरिएको छ । यसअघि उनी गत ७ पुसमा पक्राउ परेका थिए । त्यतिबेला न्यायाधीश नवराज दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा थप तथ्य पुष्टि भएको भन्दै सरकारी वकिलको कार्यालयले शुक्रबार अभियोजन पत्र दर्ता गरेको हो । विद्युतीय सञ्चार माध्यमको दुरुपयोग गरेर जिल्ला प्रहरी कार्यालय कास्कीको सुरक्षा संवेदनशीलतामा र मुद्दाको अनुसन्धान तथा अभियोजनसमेतमा आँच पुर्याउने, गोपनियता भंग हुने सामग्री प्रकाशन गरी सुरक्षामासमेत प्रभाव पार्ने काम गरेको हुँदा कानुनअनुसार कारबाही हुनुपर्ने अभियोग भुसालमाथि छ ।
प्रहरी कन्ट्रोल टिममा रहेका प्रहरी काममा व्यस्त रहेको बेलामा अनधिकृत रुपमा सीसीटीभी मनिटरबाट लामिछाने सुतिरहेको तस्वीर खिचेर सामाजिक सञ्जालमा उनले राखेको अभियोजन पत्रमा उल्लेख छ । भुसालले लामिछानेको गोप्य फोटो अनधिकृत रुपमा खिचेर सामग्रीसहित सार्वजनिक गरेको सरकारी वकिलको कार्यालयको भनाइ छ ।
भुसाललाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा ९१० बमोजिम सजाय गर्न माग गरिएको छ । भुसाल मंसिर २९ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा रवि लामिछानेलाई भेट्न पुगेका थिए । रविसँग व्यक्तिगत भेटघाट र स्वास्थ्य सल्लाह दिन भनेर गएका भुसालले सीसीटीभी मनिटरबाट फोटो खिचेका थिए ।
त्यही फोटोलाई राखेर भुसालले रविको पक्षमा चितवनमा उपस्थित हुन आह्वान गर्दै लेखेका थिए । त्यो पोस्ट पुस ३ गतेबाट भाइरल भएपछि सबैको ध्यान केन्द्रित भएको थियो भने प्रहरी प्रशासनको पनि आलोचना बढेको थियो । सीसीटीभी मनिटर रहेको कोठामा आफूलाई राखेर ड्युटीमा रहेका प्रहरी रविलाई सोध्न गएका बेला आफूसँग भएको आइफोनले ३ वटा फोटो खिचेको भुसालले बयानका क्रममा भनेका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा त्यतिबेला हिरासतमा रहेका प्रतिवादी लामिछाने गत पुस ५ गते ६५ लाख धरौटी बुझाएर निस्किएका थिए ।
