निर्माण व्यवसायीहरुले भौतिकमन्त्री दाहाललाई बुझाए ज्ञापन पत्र
काठमाडौं । नेपाल निर्माण व्यवसयी महासंघले व्यवसायीहरुका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।
निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगीहरुले मूल्य वृद्धि गरेको तथा भुक्तानी अभाव, र सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापन पत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताएका हुन् । उनले निर्माण व्यवसायीहरुका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको बताए ।
उनले प्रधानमन्त्री, विकासे मन्त्रालयका मन्त्री, सबै मन्त्रीहरु, राजनितिक दलका अध्यक्षहरुलाई माग पूरा गर्न १५ दिने अल्टिमेटमसहित ज्ञापन पत्र बुझाउने बताएका छन् । उनले व्यवसायीका माग सम्बोधन नभए महासंघले आगामी माघ १८ गते काठमाडौंको माईतीघर मण्डलामा धर्ना गर्ने घोषणा गरिसकेको बताए ।
